०२ मंसिर २०८१, कञ्चनपुर
आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका रहेको छ।
सुदुर पश्चिममा यहाँ ६ पद रिक्त रहेका छन् जसमा बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ भने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि उप- निर्वाचन हुदैछ।
रिक्त पदमा उपनिर्वाचन गराउन स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा निर्वाचन आयोगले नियुक्ति गरेको छ।
उपनिर्वाचनको लागि बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।