धनगढी, २०८१ आषाढ ८
आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रेस सेन्टर नेपाल, कैलालीका अध्यक्ष तेजराज भट्टको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको विशेष उपस्थिति रहेको यस कार्यक्रममा करिब ४० जना पत्रकारहरू सहभागी भएका थिए।
मन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै , सौराइ पार्टी प्यालेसमा शुरू भएको ३ दिने राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ को उद्घाटन कार्यक्रममा सहभागी भई हिजो साँझ धनगढी ७ स्थित पटेलामा शहीद परिवारलाई भेटघाट गरेको जानकारी गराउनुभयो।
चलचित्र मनोरञ्जनको क्षेत्रमा मात्र नभई समाजमा घट्ने हरेक क्रियाकलापलाई पर्दामा देखाउने भएकाले यसले समाजमा सकारात्मक छाप छोड्ने धारणा व्यक्त गर्नुभयो।
शारीरिक अपांगता भएका कलाकारलाई प्रोत्साहन गर्न बजेट छुट्टाउँदै उनीहरूको वृत्तिबिकासको आवश्यकता औंल्याउनुभयो।
हालै सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमण र भारतका प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको जानकारी गराउनुभयो।
प्रधानमन्त्रीको निर्देशनमा सुशासनको पक्षमा सरकार अगाडि बढेकाले जनतामा आशा पलाएको र विभिन्न भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेकोले जुनसुकै व्यक्ति भए पनि कारवाही प्रक्रिया अघि बढ्ने बताउनुभयो।
सरकारले सूचना प्रविधिलाई दशकको रूपमा नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको र पूर्वाधारका क्षेत्रमा विकासका कार्यमा सरकार अगाडि बढेको बताउनुभयो।
सञ्चार सम्बन्धी नियम कानून पूराना भएकाले संशोधन गर्दै जानुपर्ने र आम सञ्चार विधेयक पारित भएमा पत्रकारिता क्षेत्रमा काम गर्ने युवाहरूलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
सुदूरपश्चिम प्रदेशमा नेटवर्क समस्या रहेकाले चाँडै नै समाधान हुने आश्वासन दिनुभयो।
फरक विचार रहेका पार्टीहरू गठबंधनमा रहेकाले सबै विषयमा सहमति नभए पनि अहिलेको गठबंधन रहिरहने र यसलाई सहकार्य भनिएको बताउनुभयो।
सापेक्षिक रूपमा सन्तुलित बजेट आएको र मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम प्रदेशमा वर्षातका कारण हुने जोखिमबाट बच्न सम्बन्धित पक्ष सजग रहेको जानकारी दिनुभयो।
कार्यक्रम समाप्त भएपछि मन्त्रीज्यू आजै बुद्ध एयरबाट काठमाडौं प्रस्थान गर्नुहुने जानकारी प्राप्त भएको छ।