असार ५, २०८१
बैतडी, संवाददाता
यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सयभन्दा बढी वनमा डढेलोले ठूलो क्षति पुर्याएको छ। डिभिजन वन कार्यालय बैतडीका अनुसार, सामुदायिक तथा राष्ट्रिय वनहरूमा आगलागीका कारण पछिल्ला वर्षहरूको तुलनामा बढी क्षति भएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन जोशीका अनुसार, जिल्लामा १०९ वटा सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको छ, जसले १,२३९ हेक्टर वन क्षेत्रलाई प्रभावित पारेको छ। सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा लाखौं मूल्यका वनसम्पदा र वन्यजन्तु नष्ट भएका छन्।
पाटन सव डिभिजन वन कार्यालय अन्तर्गत ४३ सामुदायिक वनमा, हाट सव डिभिजन अन्तर्गत सामुदायिक र राष्ट्रिय गरी १० स्थानमा, रुद्रेश्वर देउलेक सव डिभिजन अन्तर्गत १४ स्थानमा, र मालिका सव डिभिजन अन्तर्गत ४ स्थानमा डढेलो लागेको छ। मेलौली कुलाउ सव डिभिजन वन कार्यालय अन्तर्गत ६ स्थानमा र सिगास सव डिभिजन अन्तर्गत ३२ स्थानमा डढेलो लागेको छ।
डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवका अनुसार, बैतडीमा तीन जना व्यक्ति जलेर घाइते भएका छन्। लगातारको खडेरी, घाँस राम्रो हुने गलत मान्यता, र मानिसका गलत व्यवहारका कारण वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ।
वनमा लागेको डढेलोले धेरै पशुपन्छीको बासस्थान उजाड भएको छ र लाखौंको वनसम्पदा नष्ट भएको छ। जानकारहरूले आगलागीका कारण भविष्यमा पानीका श्रोतहरू समेत सुक्न सक्ने चेतावनी दिएका छन्।