आज सुदूरपश्चिम प्रदेश सभाको सभा हलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम बहादुर भण्डारीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशनको आठौं बैठक सम्पन्न भएको छ ।
बैठकमा आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १३५ को उपनियम (१) बमोजिम आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान सभा समक्ष प्रस्तुत गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ । जसमा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन गरेको छ । त्यसैगरी अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्व ७२ करोड रहेको छ ।